शक्ति उपासक नेवाः समुदाय: घर नै अष्टमातृका पीठ!
शक्ति उपासक नेवाः समुदाय: घर नै अष्टमातृका पीठ!
पृष्ठभूमि :
नेवाः संस्कृति धर्म, दर्शन र व्यावहारिक जीवनको एउटा यस्तो अनुपम सङ्गम हो, जहाँ हरेक सांस्कृतिक क्रियाकलापभित्र गहिरो तान्त्रिक र आध्यात्मिक रहस्य लुकेको हुन्छ। शक्ति उपासना नेवाः समाजको मेरुदण्ड हो। विभिन्न मातृशक्तिहरूमध्ये अष्टमातृकागण (आठ देवीहरू) नेवाः संस्कार, संस्कृति र दैनिक विधि-व्यवहारसँग अति घनिष्ठ रूपमा जोडिएका छन्। नेवाः समाजमा एउटा सुन्दर र जीवन्त मान्यता छ। हरेक परम्परागत नेवाःहरूको घर केवल बस्ने थलो मात्र होइन, त्यो त साक्षात देवदेवीहरूको वासस्थान अर्थात् 'अष्टमातृका पीठ' नै हो।
जहाँ अष्टमातृका गणसहित देवदेवीहरूको परिवार अदृश्य रूपमा निवास गर्छन्, त्यो घर स्वभावतः एउटा पवित्र पीठमा रूपान्तरण हुन्छ। नेवाः जेष्ठ नागरिकहरू र सांस्कृतिक जानकारहरूका अनुसार, घरभित्र प्रयोग हुने दैनिक घरेलु सामानहरू र घरको बुईँगलदेखि मूलढोकासम्मका भौतिक संरचनाहरूलाई विभिन्न देवीदेवताको प्रतीकका रूपमा पूजिने परम्परा छ।
घरेलु सामान र संरचनामा देवदेवीको स्वरूप :
परम्परागत नेवाः समाजको आस्था अनुसार घरका १३ प्रमुख वस्तु वा स्थानहरूमा यसरी देवदेवीहरूको स्वरूप परिकल्पना गरिएको छ:
१. श्री गणेश: - घरको मूलढोकाको खापाको प्वालबाट गजवार
(आग्लो) खोल्न प्रयोग गरिने फलामको एकप्रकारकोघुमाउरो
सुँडेआकारको डण्डी (जसलाई नेपालभाषामा ('क्वँय्'
भनिन्छ), त्यसलाई विघ्नहर्ता श्री गणेशको रूपमा मानिन्छ।
२. सिंहिनी: ढोकाको गजवार घुसार्ने दायाँ खापाको प्वाललाई
सिंहिनी देवीको रूपमा लिइन्छ।
३. ब्याघिनी: गजवार घुसार्ने बायाँ खापाको प्वाललाई ब्याघिनी
देवीको रूपमा विश्वास गरिन्छ।
४. भैरव: ढोकालाई भित्रबाट सुरक्षित राख्ने काठको गजवार
(आग्लो) लाई साक्षात भय निवारक भैरवको रूपमा हेरिन्छ।
५. कुमारी (कौमारी): भान्छा कोठामा मसला पिस्न प्रयोग गरिने
सिलौटोलाई कुमारी देवीको स्वरूप मानिन्छ।
६. वैष्णवी: सिलौटाको बच्चा अर्थात् मसला पिस्ने लोहोरोलाई
वैष्णवी देवीको रूपमा पुजिन्छ।
७. बाराही: नेपाल भाषामा 'उगः' भनिने, चिउरा कुट्न प्रयोग
गरिने ओखललाई बाराही देवीको रूपमा लिइन्छ।
८. चामुण्डा: तिर्खा मेटाउने र शुद्धताको प्रतीक, पानी राख्ने घडा
(गाग्रो) लाई चामुण्डा देवीको रूपमा आस्था राखिन्छ।
९. महाकाली: परिवारको लागि शक्ति दिने भात पकाउने
कसौँडीलाई महाकालीको रूपमा मानिन्छ।
१०. कुमार: दाल र तरकारी पकाउने अर्को कसौँडीलाई कुमार
(कार्तिकेय) देवताको रूपमा विश्वास गरिन्छ।
११. ब्रह्मायणी: घरको फोहोर सफा गर्ने कुचोलाई शुद्धताकी देवी
ब्रह्मायणीको रूपमा सम्मान गरिन्छ।
१२. माहेश्वरी: अन्ननिफन्ने र केलाउने नाङ्लोलाई माहेश्वरी
देवीको रूपमा लिइन्छ।
१३. महालक्ष्मी (अन्नपूर्ण): परिवारको
भरणपोषण गर्ने मुख्य अन्न अर्थात् चामल राख्ने कोठा
(भकारी) लाई साक्षात धनधान्यकी देवी महालक्ष्मी वा
अन्नपूर्णको रूपमा पूजा गरिन्छ।
निष्कर्ष
यस प्रकार, नेवाः समुदायले आफ्नो घरलाई केवल इँटा, माटो र काठको संरचना मात्र मानेनन्, बल्कि यसलाई एउटा जीवन्त आध्यात्मिक केन्द्र बनाए। घरको मूलढोकादेखि भान्छाका साना सामग्रीसम्ममा मातृशक्ति र अन्य देवताको स्वरूप देख्नुले नेवाः दर्शन कति उच्च र व्यावहारिक छ भन्ने पुष्टि हुन्छ। यही आस्थाका कारण परम्परागत नेवाः घरहरू आफैँमा एउटा 'अष्टमातृका पीठ' हुन्, जसले घरभित्र सकारात्मक ऊर्जा, सुरक्षा र समृद्धि ल्याउने विश्वास आज पनि कायमै छ।
~०~
#प्रकामानशिल्पकार

टिप्पणियाँ
एक टिप्पणी भेजें