शक्ति उपासक नेवाः समुदाय: घर नै अष्टमातृका पीठ!

 शक्ति उपासक नेवाः समुदाय: घर नै अष्टमातृका पीठ!



पृष्ठभूमि


नेवाः संस्कृति धर्म, दर्शन र व्यावहारिक जीवनको एउटा यस्तो अनुपम सङ्गम हो, जहाँ हरेक सांस्कृतिक क्रियाकलापभित्र गहिरो तान्त्रिक र आध्यात्मिक रहस्य लुकेको हुन्छ। शक्ति उपासना नेवाः समाजको मेरुदण्ड हो। विभिन्न मातृशक्तिहरूमध्ये अष्टमातृकागण (आठ देवीहरू) नेवाः संस्कार, संस्कृति र दैनिक विधि-व्यवहारसँग अति घनिष्ठ रूपमा जोडिएका छन्। नेवाः समाजमा एउटा सुन्दर र जीवन्त मान्यता छ। हरेक परम्परागत नेवाःहरूको घर केवल बस्ने थलो मात्र होइन, त्यो त साक्षात देवदेवीहरूको वासस्थान अर्थात् 'अष्टमातृका पीठ' नै हो।


जहाँ अष्टमातृका गणसहित देवदेवीहरूको परिवार अदृश्य रूपमा निवास गर्छन्, त्यो घर स्वभावतः एउटा पवित्र पीठमा रूपान्तरण हुन्छ। नेवाः जेष्ठ नागरिकहरू र सांस्कृतिक जानकारहरूका अनुसार, घरभित्र प्रयोग हुने दैनिक घरेलु सामानहरू र घरको बुईँगलदेखि मूलढोकासम्मका भौतिक संरचनाहरूलाई विभिन्न देवीदेवताको प्रतीकका रूपमा पूजिने परम्परा छ।


घरेलु सामान र संरचनामा देवदेवीको स्वरूप :


परम्परागत नेवाः समाजको आस्था अनुसार घरका १३ प्रमुख वस्तु वा स्थानहरूमा यसरी देवदेवीहरूको स्वरूप परिकल्पना गरिएको छ:

१.   श्री गणेश: - घरको मूलढोकाको खापाको प्वालबाट गजवार

      (आग्लो) खोल्न प्रयोग गरिने फलामको एकप्रकारकोघुमाउरो

       सुँडेआकारको डण्डी (जसलाई नेपालभाषामा  ('क्वँय्' 

      भनिन्छ), त्यसलाई विघ्नहर्ता श्री गणेशको रूपमा मानिन्छ।


२.  सिंहिनी: ढोकाको गजवार घुसार्ने दायाँ खापाको प्वाललाई

      सिंहिनी देवीको रूपमा लिइन्छ।


३.   ब्याघिनी: गजवार घुसार्ने  बायाँ खापाको प्वाललाई ब्याघिनी   

      देवीको रूपमा विश्वास   गरिन्छ।


४.   भैरव: ढोकालाई भित्रबाट सुरक्षित राख्ने काठको  गजवार  

      (आग्लो) लाई साक्षात भय निवारक भैरवको रूपमा हेरिन्छ।

५.   कुमारी (कौमारी): भान्छा कोठामा मसला पिस्न प्रयोग गरिने   

      सिलौटोलाई कुमारी देवीको स्वरूप मानिन्छ।


६.   वैष्णवी: सिलौटाको बच्चा अर्थात् मसला पिस्ने लोहोरोलाई

      वैष्णवी देवीको रूपमा पुजिन्छ। 


७.   बाराही: नेपाल भाषामा 'उगः' भनिने, चिउरा कुट्न प्रयोग

      गरिने ओखललाई बाराही देवीको रूपमा लिइन्छ।


८.  चामुण्डा: तिर्खा मेटाउने र शुद्धताको प्रतीक, पानी राख्ने घडा

     (गाग्रो) लाई चामुण्डा देवीको रूपमा आस्था राखिन्छ।


९.  महाकाली: परिवारको लागि शक्ति दिने भात पकाउने  

      कसौँडीलाई महाकालीको रूपमा मानिन्छ।


१०. कुमार: दाल र तरकारी पकाउने अर्को कसौँडीलाई कुमार

     (कार्तिकेय) देवताको रूपमा विश्वास गरिन्छ।


११. ब्रह्मायणी: घरको फोहोर सफा गर्ने कुचोलाई शुद्धताकी देवी  

      ब्रह्मायणीको रूपमा सम्मान गरिन्छ।


१२. माहेश्वरी: अन्ननिफन्ने  र केलाउने नाङ्लोलाई माहेश्वरी  

       देवीको रूपमा लिइन्छ।


१३. महालक्ष्मी (अन्नपूर्ण): परिवारको

      भरणपोषण गर्ने मुख्य अन्न अर्थात् चामल राख्ने कोठा      

     (भकारी) लाई साक्षात धनधान्यकी देवी महालक्ष्मी वा

     अन्नपूर्णको  रूपमा पूजा गरिन्छ।


निष्कर्ष

यस प्रकार, नेवाः समुदायले आफ्नो घरलाई केवल इँटा, माटो र काठको संरचना मात्र मानेनन्, बल्कि यसलाई एउटा जीवन्त आध्यात्मिक केन्द्र बनाए। घरको मूलढोकादेखि भान्छाका साना सामग्रीसम्ममा मातृशक्ति र अन्य देवताको स्वरूप देख्नुले नेवाः दर्शन कति उच्च र व्यावहारिक छ भन्ने पुष्टि हुन्छ। यही आस्थाका कारण परम्परागत नेवाः घरहरू आफैँमा एउटा 'अष्टमातृका पीठ' हुन्, जसले घरभित्र सकारात्मक ऊर्जा, सुरक्षा र समृद्धि ल्याउने विश्वास आज पनि कायमै छ।

                                ~०~

#प्रकामानशिल्पकार

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

मन्दिर प्रवेश गर्नु भन्दा पुर्व किन जुत्ता चप्पल बाहिरै खोलीन्छ ?

पूजास्थल र मन्दिर क्षेत्रमा फलाम प्रयोग गर्नु हुन्न !

कान्तिपुर सहरको संरक्षिका " अजिमा"